Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आगो समयमै निभाउन नसक्नुको कारण खोज्दै महानगर

०५ आइतबार , जेठ २०८२६ महिना अगाडि

आगो समयमै निभाउन नसक्नुको कारण खोज्दै महानगर

काठमाडौं महानगरपालिकाले वडा नम्बर २४, मखन टोलमा भएको आगलागी समयमै नियन्त्रणमा आउन नसक्नुको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने भएको छ । दुई मिनेटमै दमकल पुग्नसक्ने ठाउँको आगो घण्टौंसम्म नियन्त्रणमा लिन नसक्नुको कारण पत्ता लगाउन महानगरकी उपमेयर सुनिता डंगोलले निर्देशन दिएकी हुन् ।

उनले आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई त्यसबारे अनुसन्धानका निम्ति छानबिन समिति गठन गर्न निर्देशन दिएकी हुन् । गत बुधबार मखन टोलस्थित स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास चुहिएर आगलागी हुँदा काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको ज्यान गएको थियो । सो दिन बिहान पौने ७ बजेदेखि लागेको आगो १० बजेतिर मात्रै नियन्त्रणमा आयो । आगो फैलिँदा अन्य दुईटा घरमा समेत क्षति पुग्यो ।

उपमेयर डंगोलले भनिन्, ‘दमकल स्टेशनबाट २ मिनेटभित्र दमकल पुग्नसक्ने ठाउँको आगो नियन्त्रणमा लिन किन समय लाग्यो ? यसमा के समस्या थियो ? के कारण थियो ? कसको लापर्बाही थियो ? जसका कारण आगो सल्किएको घरबाट नजिकका २ वटा घरमा आगो फैलिएर क्षति भयो । यसको छानबिन हुनुपर्छ । सत्य पत्ता लगाएर आउँदा दिनमा यस प्रकारका कमजोरी हुन दिनुहुँदैन ।’

आगलागी नियन्त्रणका लागि तत्परतामा कमजोरी भएको गुनासो आएको जनाउँदै उनले घटनास्थलमा दमकल लैजान पूर्वाधारजन्य अवरोध वा व्यवस्थापनमा भएका चूनौती र कमजोरीबारे दमकल, एम्बुलेन्स, स्थानीयबासी, जनप्रतिनिधिसँग छलफल गरेर सुक्ष्म अध्ययन गर्न निर्देशन दिएकी छन् । साथै, यस्ता घटनाको जोखिम घटाउन पूर्वतयारी, खोज उद्धार र घटनापछिको राहत तथा पुनःस्थापनाका विषयमा समितिले सिफारिस गर्ने उपमेयर डंगोलको भनाइ छ ।