
छुटाछुटै मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दाङको गडवा गाउँपालिका-३ मा २७ वर्षीय निशान चौधरी र मोरङको रतुवामाई नगरपालिका–६ मा ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुका अनुसार आज बिहान तम्घास आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका ६ सिमाघाटमा दुर्घटना भएको हो । चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई बाटो छेउको नालीमा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसगैरी मोरङको रतुवामाई नगरपालिका–६ मा आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
आमा छोरा चढेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी आमाको रंगेली अस्पताल पुर्याएपछि मृत्यु भएको थियो भने मोटरसाइकल चालक छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।