
नेपालले महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई हराउदै ग्लोबल छनोटमा प्रवेश गरेको छ । आजको खेलमा युएईलाई ५ विकेटले हराउदै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहेर ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
नेपालले आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेल्दै २८ बलमा अविजित ३० रन बनाइएकि थिइन् भने रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान दिएका थिए । ६४ रनमा ४ विकेट गएको नेपालका लागि रुविना र इन्दुले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जिततर्फ लागेका थिए ।
त्यस्तै नेपालका लागि मनिषा कुमारी उपाध्यायले ४ विकेट लिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिएकि थिइन् ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रन बनाएकि थिइन् ।
अब नेपालले सुपर-३ को दोस्रो खेलमा भोलि मंगलबार थाइल्याण्डसँग खेल्नेछ । यसअघि थाइल्याण्डले पनि युएईलाई हराउँदै ग्लोबल छनोटमा स्थान पक्का गरेको छ ।