Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

संसदीय प्रतिवेदनले शिक्षक आक्रोशित, आन्दोलनका लागि तयार रहन महासंघको आग्रह

०७ मंगलबार , जेठ २०८२एक बर्ष अगाडि

संसदीय प्रतिवेदनले शिक्षक आक्रोशित, आन्दोलनका लागि तयार रहन महासंघको आग्रह

सरकारले आफूहरुसँग गरेको सहमति बिर्सिएर संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै विगतका सहमति हुबहु सम्बोधन हुनेगरी सुझावसहितको प्रतिवेदन तयार नभए गत चैतको भन्दा ठूलो र बलियो आन्दोलन गर्ने चेतावनी दिएको हो ।

‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुनेगरी सुझावसहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१–८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउनेछन् भन्ने कुरा नबिर्सन र यसबाट सिर्जना हुनसक्ने गम्भीर परिस्थितिप्रति राज्यपक्ष आफैं जिम्मेवारी हुने कुरासमेत जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

हिजो आन्दोलन र सहमति बिर्सेर तयार पारिएको प्रतिवेदनले आफूहरुलाई अझै आक्रोशित बनाएको भन्दै महासंघले जुनसुकै बखत आन्दोलन हुनसक्ने भएकाले त्यसका लागि तम्तयार रहन सबै शिक्षक, कर्मचारीलाई सचेतसमेत गराएको छ । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत बनेको उपसमितिले पेश गरेको सुझाव तथा प्रतिवेदनले शिक्षक–कर्मचारीको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान नगरेको महासंघको आरोप छ ।

आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा पनि पश्चगमनतर्फ उन्मुख देखिएको जनाउँदै महासंघले भनेको छ, ‘अस्थायी प्रकृतिका शिक्षकका लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशतबमोजिम राखिएको छैन । त्यति मात्र होइन, त्यस प्रबन्धमा अस्थायी, करार र सिकाई अनुदान शिक्षकलाई छुट्याइएको छ ।’ त्यस्तै, स्थायी शिक्षकको आवधिक बढुवाको लागि प्रस्तावित अवधि सहमतिअनुसार नभएको र त्यसमा समेत विभिन्न शर्त राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च गरिएको महासंघको ठहर छ ।

‘लामो समय अस्थायी सेवा गरेर स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधिबाट सेवा थप्ने कुरामा समेत सहमति पालना गरिएको छैन । शिक्षकको सरुवा आम शिक्षकको भावनाविपरीत प्रस्तावित गरिएको छ । जिल्लामा शिक्षाको एकाई हटाएर शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानमाथि प्रहार गरिएको छ । विभागीय कारबाहीको प्रबन्धमा कुनै सुधार गरिएको छैन,’ महासंघले उल्लेख गरेको छ ।