Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

मानवता कहाँ छ ?

१९ आइतबार , जेठ २०८२एक बर्ष अगाडि

मानवता कहाँ छ ?

मैले देखेको छु—भोक,
जुन पेटभित्र ज्वालाजस्तै बल्छ।
मैले देखेको छु—पिडा,
अनुभवले कुँदिएको अनुहार, थाकेको आत्मा।

मैले देखेको छु—विपन्नता,
नांगो खुट्टा लिएर सपना खोज्दै हिँड्नेहरू।
मैले देखेको छु—रुनु,
रुन्छन् तर सुन्ने कोही हुँदैन, रोक्ने कोही छैन।

मैले देखेको छु—रगत,
धर्तीमै पसिनाजस्तै बगेको।
मैले देखेको छु—रक्तवर्षा,
जहाँ आकाशले पनि लाज मानेको छैन।

मैले देखेको छु—गृहयुद्ध,
शान्तिको चिहान खन्दै हिंडेको समाज।
मैले देखेको छु—अत्याचार,
न्यायको आँखामा पट्टी बाँधेर नाच्ने नाङ्गो सत्ताहरू।

मैले देखेको छु—घरविहीनहरू,
निद्रा खोज्दै चिसो ढुंगामाथि पल्टिएका।
मैले देखेको छु—फजुल धन,
अरूको भाग च्यातेको सुनमा लपेटिएको।

मैले देखेको छु—दमन,
स्वर दबाउने हातहरू।
मैले देखेको छु—रुन बाध्य गरिएका,
जसको आवाज कहिल्यै न्यायको कानसम्म पुगेन।

तर मैले देखेको छैन—
त्यो शान्त प्रेक्षक, जो आफूलाई ‘शिक्षित’ भन्छ।
जो मानवताको पाठ पढाउँछ,
तर आफैं चुपचाप रहन्छ—सधैं चुप।

मानवता कहाँ छर ?
के यो डरभित्र गाडिएको छर ?
के यो कागजका भाषणहरूमा मात्र बाँचेको छर ?

मानवता कहाँ छर ?
के म आफैं बन्नुपर्ने हो मानवतारु
एक्लो, प्रश्न उठाउने,
अँध्यारोमा टल्किने न्यानो भट्टीझैँ।

—जनार्दन ब्रह्मपुरीया