Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

कालीमाटीमा भित्रिएका तरकारीमा विषादी अवशेष मापदण्डभित्र

२१ मंगलबार , जेठ २०८२एक बर्ष अगाडि

कालीमाटीमा भित्रिएका तरकारीमा विषादी अवशेष मापदण्डभित्र

मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ ।

काठमाडौं महानगरपालिका र खाद्य प्रविधि गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित गएराति १० बजेदेखि बिहान ३ बजेसम्म भित्रिँदै गरेका तरकारीको विषादी परीक्षण गर्दा त्यस्तो भेटिएको हो ।

एक सय ७३ वटा नमुना लिएर स्थलगत परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र देखिएको महानगरले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.ईश्वर सुवेदीले भने, ‘मुलुकका विभिन्न २० जिल्लाबाट भित्रिएका तरकारीको नमुना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’

उनका अनुसार काँक्रो, घिरौला, तिते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमुना लिइएको थियो । यी तरकारी चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाही, धादिङ, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानमा भित्रिएका हुन् ।

संकलित नमुनाहरुको आरबीपीआर (र्‍यापिड वायोसे अफ पेष्टिसाइड्स रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरु परीक्षण गरिएको महानगरको भनाइ छ । परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, महानगरका फुड टेक्नोलोजिष्ट अशोक पराजुली सहभागी भएका थिए ।