
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोडमा संलग्नमाथि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले तोडफोडमा संलग्न जोसुकै भएपनि पहिचान गरी कानूनी दायरामा ल्याउन गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएको हो ।
विश्वविद्यालयजस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौं विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशील रहनुपर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानूनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्याउने कार्य निन्दनीय र भत्र्सनायोग्य रहेको मन्त्रालयको ठहर छ ।
त्रिवि ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट शिक्षामन्त्रीले उक्त घटनाबारे सुक्ष्म अध्ययन गरिरहेकोसमेत जनाइएको छ । ‘मन्त्रीज्यूले यस्तो अनुशासनहीन र गैरकानूनी कार्यमा संलग्न जोसुकै भएपनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानूनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता घटना हुन नदिनेगरी सम्बन्धित पक्षबाट स्वतः स्फूर्त रुपमा सावधानीपूर्ण प्रयत्न गर्न पनि मन्त्रालयको आग्रह छ ।