
नेपालले स्कटल्यान्डमा जारी विश्वकप लिग–२ अन्तर्गतकाे त्रिकोणात्मक एकदिवसीय खेलमा लगातार दोस्रो जित निकालेकाे छ । नेपालले गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेकाे हाे ।
पहिलाे खेलामा घरेलु टोली स्कटल्यान्डलाई हराएकाे नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेर अङ्क तालिकामा १४ खेलबाट १० अङ्क बनाउन सफल भएकाे छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४७ दशलमव १ ओभरमा ५ विकेट गुमाएर पुरा गरेकाे थियाे । नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्काको प्रहार गर्दै सर्वाधिक ७८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले अविजित ३८ रन बनाएका थिए भने गुल्सन झाले ११ रन बनाएका थिए ।
त्यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाउँदा आसिफ शेखले १९ र कुशल भुर्तेलले २५ रन बनाएर आउट भएका थिए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिएका थिए ।
त्यसैगरि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ दशलमव १ ओभरमा अलआउट हुँदै २ सय २५ रन बनाएकाे थियाे । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन, नोच क्रोएसले ४८ रन र विक्रमजित सिंहले ३८ रन बनाउँदा जाच लियोन क्याचेटले २७ रन बनाएका थिए ।
तेजा निदामनुरुले १३ रन बनाउँदा रोलअफ भान डेर म्यार्युले २१ रन बनाएकाे खेलमा नेदरल्यान्ड्सकाे तर्फबाट माइकल लेभिटले २ विकेट लिंदा भिभियन किंग र पउल भान मिकरेनले समान १–१ विकेट लिएका थिए ।
अब नेपालले अर्को खेल आगामी आइतबार घरेलु टोली स्कटल्याण्ड र सोमबार नेदरल्याण्डसँग खेल्ने खेल तालिका रहेकाे छ । विश्वकप लिग–२ अन्तर्गतकाे त्रिकोणात्मक एकदिवसीय खेलमा लगातार दोस्रो जित निकालेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विजयी भएकोमा खेलाडीमा बधाई दिएका छन् ।