
घुससहित समातिएका ओखलढुंगास्थित सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
आयोगको टंगालबाट खटिएको टोलीले गत जेठ १ गते उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, बाट पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्रेको थियो । अनुसन्धानको क्रममा यादवले खोटाङमा निर्माणाधीन सडकको छैटौं रनिङ्ग बिल भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिएबापत सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार उनले त्यसअघि गत मंसिर ८ गते पाँचौ रनिङ्ग बिल भुक्तानीका लागि पनि एक लाख रुपैयाँ घुस लिएको खुलेको छ । अख्तियारद्धारा दायर अभियोगपत्रमा यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ६ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।