
काठमाडौं महानगरपालिकाका पूर्वइन्जिनियर रामबाबु महतो कोईरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी रुपमा अंकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा चलाएको हो ।
कोईरी २०४६ सालदेखि ०७८ सालसम्म महानगरको इन्जिनियर थिए । सो अवधिको सम्पत्ति छानबिन गर्दा करिब आठ करोडमध्ये साढे चार करोड बढी रकमको स्रोत नखुलेको अख्तियारको ठहर छ । अख्तियारका अनुसार उनले गैरकानूनी रुपमा कमाएको सम्पत्तिबाट श्रीमती मालाकुमारी महतोको नाममा जग्गा, सेयर खरिद, घर निर्माण र बैंकमा मौज्दात राखेको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगोसहित कोईरीकी श्रीमती मालाकुमारीलाई समेत प्रतिवादी कायम गरी कैद र जरिवाना हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।