
अत्यधिक गर्मी बढ्न थालेपछि पठनपाठनमा समस्या हुँदा विद्यालयहरु बन्द गर्न थालिएको छ । गर्मि बढेसँगै तराईका केहि जिल्लाका विद्यालयहरु बन्द गर्न थालिएको हो ।
अत्यधिक गर्मीका कारण बारा, पर्साका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पर्साको पोखरिया नगरपालिकाले पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी कलैया उपमहानगरले पनि अत्यधिक गर्मीको कारण जेठ २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिने निर्णय गरेको छ । उक्त विद्यालयहरु असार १ गतेदेखि निर्बाध रूपमा सञ्चालन हुने बताइएको छ ।
त्यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण आज विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिन निर्देश दिएको बताइएको छ ।
केही दिनयता मुलुकभर गर्मी बढेसँगै विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि दुई दिन बिदा दिएको छ । विशेषगरी तराई र भित्री मधेशका धेरै जिल्लाका विद्यालयहरु धमाधम बन्द गर्न थालिएको छ ।