
आजदेखि बृहस्पति अस्त हुने भएकाले अब पाँच महिनासम्म विवाहको साइत नभएको पञ्चाङ्ग निर्णायक विकास समिति जनाएको छ । देवताका गुरु मानिएका बृहस्पति ग्रह अस्त हुँदा पृथ्वीमा आउने प्रभाव र फल कमजोर रहने भएकाले शुभ कार्य गर्न नहुने शास्त्रीय मान्यता अनुसार पाँच महिनासम्म विवाहको साइत नभएको हो ।
२०८२ असार २२ गते बृहस्पति उदय हुने भए पनि त्यही दिन हरिशयनी एकादशी परेको छ । समितिका अनुसार हरिशयनी एकादशीमा चतुर्मास शुरु हुने र कार्तिक १५ गते शुक्ल पूर्णिमासम्म चतुर्मासका वेला व्रतबन्ध-विवाह आदिका साइत ननिस्कने भएकाले पञ्चाङ्गमा अब मंसिर ६ गते मात्र विवाह मुहूर्त्त राखिएको छ ।
बृहस्पति अस्त रहेका वेला नित्यकर्म,नैमित्तिक कर्म गर्न हुने भएपनि काम्य कर्म गर्न नहुने मान्यता रहेको छ । तर जप, तर्पण र दिनहुँ गरिने पूजा आदि नित्यकर्म भने नरोकिने र नामकरण, मृत्युकर्मलगायतका नैमित्तिक कर्म पनि गर्न मिल्ने भएपनि कामना राखेर गरिने गृहारम्भ, गृहप्रवेश आदिका साथै व्रतबन्ध-विवाह आदि संस्कार यो समयमा गर्न नहुने बताइएको छ ।
त्यस्तै बृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिनअघि र उदय भएपछि पनि ३ दिनसम्म सुतक लाग्ने धार्मिक मान्यता रहेकाले यो अवधिमा पनि नयाँ धार्मिक कार्य गर्न मिल्दैन ।