
नवलपरासीमा किसानले उत्पादन गरेको चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । नवलपरासीको मध्यविन्दु नगरपालिका–२, का किसानले उत्पादन गरेको चैतेधानको उचित मूल्य नपाउदा किसानमा निराश छाएको हो ।
स्थानीय किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल २ हजार २०० मात्र मूल्य पाउँदा उनि निराश भएका छन् । गतवर्ष ३ हजारभन्दा मूल्य पाएका उनले यसपाली कम मूल्य पाउदा निराश बनेका हुन् ।
नवलपरासीको बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निराश भएको बताएका छन् । उनको समूहले पाँच बिघामा चैतेधान लगाएकोमा उचित मूल्य नपाएपछी धान घरमै थन्क्याएको बताएका छन् ।
त्यसैगरी सोहि जिल्लाको गैंडाकोटका किसानले २ हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताइएको छ । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेकोमा त्यहाका किसानको दुखेसो रहेको छ ।
यता कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीका अनुसार सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८ सय ७९ तोकेको बताइएको छ । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनको भनाई रहेको छ ।
यो वर्ष नवलपुरमा १ हजार १०० हेक्टरमा चैतधानको खेति गरिएको थियो ।