
सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालिन अध्यक्ष विक्रम यादवसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । सौर्य बत्ती जडानमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिव शंकरप्रसाद कुशवाहा, लेखापाल संजयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाशराय यादव, सब–इन्जिनियर सन्तोष राय र राजु राय छन् ।
यस्तै, स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर जयप्रकाश यादव, एसके स्टोर्सका प्रोप्राइटर रंजुकुमारी शाह, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसनका प्रोप्राइटर संगिता कुमारीउपर पनि मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत पालिकाको वडा नम्बर १ देखि ९ सम्म सौर्य बत्ती जडान कार्यक्रम अघि बढाइएको थियो । कार्यक्रमअन्तर्गत नौ वटा शीर्षकमा दुई करोड १६ लाख रुपैयाँ विनियोजन गरियो ।
तर, पोल, सोलार, लाइट, तार, नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलरजस्ता सामग्री खरिदको लागि बदनियत राखी बजेट टुक्राएर लागत बढाइएको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम दुई करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुमाथि कैद र जरिवाना हुन मागदाबी गरेको छ ।