
पाँचथरकाे हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा तीन जनाको मृत्यु भएकाे छ । मेची राजमार्ग अन्तर्गतको पाँचथर खण्डमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किएकाे हाे ।
उक्त दुर्घटनामा परि मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२, निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेकाे बताइएकाे छ । मृतक तीनैजना साेहि बेलिब्रिज निर्माणमा खटिएका मजदुर हुन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उक्त दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको बताइएकाे छ । पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमाना रहेकाे हेवा खाेलाकाे बेलिब्रिज २०८१ असोज १२ गते आएको बाढीले बगाएकाे थियाे ।
अहिले पुनः जडानको काम भइरहेको उक्त बेलिब्रिजकाे जडान नसकिँदै बेलिब्रिज खसेको र बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना मजदुर घाइते भएका हुन् ।