
डोल्पाको तत्कालिन जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा तत्कालिन लेखापाल मनिराम कुर्मी, उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा छन् । उनीहरुले तत्कालिन दुनै गाविस २ र ३ का कुनै पनि वडा र बस्तीमा नरहेको दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माणको योजना पारेर रकम अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार काल्पनिक उपभोक्ता समिति खडा गरेर विद्यालयमा छानासहितको दुई कोठे भवन निर्माण गरेको नक्कली कागजात तयार पारी सात लाख ६० हजार रुपैयाँ भुक्तानी लेनदेन गरिएको पाइएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उनीहरुबाट उक्त रकम जफत गरी कैद र जरिवाना सजाय हुनुपर्ने मागसहित विशेष अदालतमा अभियोगपत्र दायर गरेको अख्तियारले जनाएको छ ।