
सेनाले जिम्मा पाउनासाथ सकृयताका साथ निर्माण सम्पन्न गरिदिएको छ हुम्ला कर्णाली नदीकोबेलिब्रिज । यो पुल बन्नाले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
कर्णालीको हुम्ला ३ दशकको प्रयासपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । समाचारअनुसार खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा नेपाली सेनाले झन्डै साढे ६ करोड रूपैयाँ लागतमा बेलिब्रिज जडान गरेसँगै हुम्लावासीको राष्ट्रिय सडक सञ्जालसँग जोडिने सपना साकार भएको हो । राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोर २०५६ मा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो कोरिडोर ६८२ किलोमिटर लामो छ । अब बाँके हुम्ला सिधा सडक सम्पर्कमा आएको छ । स्थानीयबासी साह्रै खुशी देखिएका छन् ।
हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसाथ कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमकोट सडक आयोजना शुरू भएको थियो । योजनाले उपलब्ध गराएको करिडोरको हुम्ला खण्डमा १८५ किलोमिटर सडक पर्छ । सडकको हुम्ला खण्डको दूरीमध्ये कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट शुरू गरी २०७८ सालमा सम्पन्न गरेर सडक विभागलाई जिम्मा लगाएको थियो । सर्केगार्डदेखि खार्पु खण्ड ५० किलोमिटर सडकमध्ये दुल्ली कुनादेखि लालीबगरसम्मको ११ किलोमिटर सडक २०७८ सालमा निर्माण शुरू गरेर २०८१ असारमा सेनाले नै सम्पन्न गरेको थियो ।
कालीकोटको खुलालुदेखि हुम्ला जिल्लाको हिल्सासम्मको कूल २६८.६५ किलोमिटर सडकको कूल लागत ६ अर्ब ६६ करोड १९ लाख रहेको छ ।