
यस वर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई दिइएको छ । वरिष्ठ गीतकार रिजाललाई सम्मानपत्र र एक लाख रुपैया नगद सहित पुरस्कार प्रदान गरिएको हो ।
सभामुख देवराज घिमिरेले गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा रिजाललाई उक्त पुरस्कार प्रदान गरेका हुन् । त्यसैगरी एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) र एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
त्यसैगरी ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडी योगीलाई प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरू छिन्नलताको विशेषता भएको बताएका थिए ।
नगद र सम्मानपत्रले सम्मानित वरिष्ठ गीतकार रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताएका थिए ।