
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, खुर्सानी खोलानजिकै सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएकाे छ । बर्दघाट नगरपालिका अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि बिहानदेखि सडक अवरुद्ध भएकाे हाे ।
बिहान सडक भासिएकाे र भासिएकाे सडकमा ट्रक समेत फसेकाले बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरदत्त पन्तका अनुसार पूर्वतर्फ जाने सवारीसाधन बर्दघाटको टीसीएन चोक र पश्चिम जाने आएका सवारीसाधन दुम्किबासतर्फ रोकिएकाे बताइएकाे छ ।
उक्त सडकखण्डमा सडक स्तरोन्नतिको काम भइरहेकाले ठाउँ ठाउँमा हिलो हुने र सडक भासिने जस्त समस्या हुने गरेकाे छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएकाे र ट्रक फसेको ठाउँमा वैकल्पिक बाटो बनाएर सवारी सञ्चालनको प्रयास भइरहेको बताइएकाे छ ।