
अहिले देशभर मनसुन सक्रिय भएसँगै देशकाे विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन सबैलाई आग्रह गरिएकाे हाे ।
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा औसत स्थानमा र पश्चिममा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको बताएकाे छ । जसका कारण हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको र कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे बताएकाे छ ।
आज देशभरकाे मौसम सामान्यतया बदली भइ अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएकाे छ ।