
रुकुममा भीरबाट लडेर एकजना र कैलालीको गौरीगंगामा नदीमा डुबेर दुईजनाको गरी तीनजनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोटमा भीरबाट लडेर एक युवकको मृत्यु भएको हो भने कैलालीको गौरीगंगामा नदीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको हो ।
बाँफिकोट गाउँपालिका–१, माथिगाउँ निवासी ३३ वर्षीय अजय मल्लको गएराति बाँफिकोट गाउँपालिका–२, स्थित राम्चेडाँडामा रहेको भीरबाट खसेरमृत्यु भएको हो । मल्लको चिसापानी भन्ने ठाउँमा लागेको मेलाबाट फर्किँदै गर्दा भिरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिका-११ ऐठाका लालु धामीका छोरा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो । नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजे उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।