
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियारमा ज्ञापन पत्र बुझाउँदैछ । आज साउन २ गते दिउँसो १ बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर ज्ञापन पत्र बुझाउन लागेको हो ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी रहेको बताइएको छ । गत असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो र सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठको भनाइ रहेको छ ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाब दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं,’ श्रेष्ठले भने, ‘राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापन पत्र पेश गर्नेछ ।’
त्यसैगरी राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको बताइएको छ ।