
आज देशका अधिकांश स्थानमा सामान्य वर्षादेखि भारी वर्षाकाे सम्भावना रहेकाे छ । देशभर मनसुनी वायु सक्रिय भएसँगै कोशी, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहेकोले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको समेत गरेकाे छ । अहिले मनसुनको न्यून चापीय रेखा नेपालको मध्य तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले मनसुनी गतिविधि बढेको पनि महाशाखाले जनाएके छ ।
अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका अधिकांश स्थानका साथै अन्य पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।