
रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्य बनाउने बारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । सुनापति गाउँपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।
नेपाल पर्यटन बोर्डको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रसँग आवद्ध विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनीधिहरूकाे उपस्थिति रहेकाे थियाे । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) काे प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा (कमल), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे,नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईं,नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवशंकर पौडेल,संविधान सभा सदस्यश्यामकुमार श्रेष्ठलगायतले सुनापति गाउँपालिका र आसपास क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने बारे धारणा राखेका थिए ।
‘व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन, समृद्ध उद्यमी सुखी सुनापति, कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पति’ भन्ने मुल नाराका साथ अन्तक्रिया एवं छलफल कार्यक्रम गरिएको थियाे । कार्यक्रममा पालिकाकी उपाध्यक्ष गीता विष्टले सबैलाई स्वागत गर्दै त्यहाँको पर्यटन क्षेत्र र पर्यटन गन्तव्यको बारे उजागर गरेकि थिइन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सांसद पूर्णबहादुर तामाङले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार नभइ नहुने ठोकुवा गर्दै आकर्षक प्याकेज बनाएर पर्यटकीय प्रोडक्टलाई बिक्री गर्नुपर्ने बताएका थिए । उनले गाउँपालिकाले गरेको कामलाई ऐतिहासिक कार्यको संज्ञा दिँदै उनले आफू विकासका काममा संधै अगाडि बढ्ने बताउँदै पुल, खानेपानी, बिजुली, विभिन्न सडक बाटो कालोपत्रे गर्ने लगायत काममा आफू निरन्तर लागिरहेका भन्दै उनले आवश्यक स्थानमा आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा (कमल) ले सुनापतिकाे नयाँ पर्यटकीय गन्तव्यको शुभकामना दिँदै स्वरोजगार होमस्टेको विकासमा जोड दिए । सुनापतिलाई अगाडि बढाउने प्रयास सह्रानीय रहेको भन्दै सापकोटाले सन् २०२६ मा १३ लाख पर्यटक नेपाल आउने अपेक्षा गरिएको बताए । उपाध्यक्ष सापकोटाले एउटा पर्यटन विज्ञ राखेर योजनाबद्ध पर्यटन विकासमा लाग्न सुनापति पालिकालाई आग्रह गर्दै पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले सुनापतिको भूगोल, संस्कृति र इतिहासका साथै कृषि उत्पादनलाई समेत जोडेर एकीकृत पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले फार्म ट्रिपसहित पर्यटन विकासका विविध विषयमा टानले गाउँपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले त्यहाँका ट्रेकिङ ट्रेललाई राम्रो उपयोग गर्नुपर्नेमा जोड दिए । कलाकार, विदेशी राजदूतहरूलाई लगेर त्यस क्षेत्रको प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड रहेको छ । सुनपातिलाई शैलुङ र खाडादेवीसँग जोडेर एकीकृत पर्यटन विकासमा लाग्नुपर्ने र लगानी आकर्षित गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले रणनीतिक योजना बनाएर सुनापतिको पर्यटन विकासमा लाग्नुपर्ने भनाइ राखेका थिए । त्यस्तै नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईंले जातजाति रहनसहन, भाषाभाषीको उत्थानमा जोड दिए । त्यहाँको पर्यटकीय प्रोडक्ट विकासमा पालिकाले ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले पालिका समृद्ध बन्न बाटोघाटो मात्रै भएर नपुग्ने भन्दै सबै चिज आवश्यक पर्ने भन्दै त्यसमध्ये पर्यटन पनि एक रहेको भनाइ राखेका थिए । उनले सुनापतिको राष्ट्रिय प्रचारमा लाग्ने बताउँदै उनले सुनापतिकको कृषि उत्पादन, थान्का, गलैंचा लगायत क्षेत्रबाट उत्पादनसँगै रोजगारी वृद्धि गर्न पर्यटनलाई सँगसँगै अगाडि बढाइने धारणा राखे थिए ।