
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पहिरो जाँदा तातोपानी नाका जोड्ने सडक अवरुद्ध भएको छ । कोदारीस्थित इकु क्षेत्रमा सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
गएरातिदेखि परेको अविरल वर्षा र पहिरोका कर्ण अरनिको राजमार्ग अन्तर्गतको तातोपानी नाका जोड्ने सड बन्द भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान ५ बजे भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकु सडकमा माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक बन्द भएको हो ।
अहिले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका छ । पहिरो झर्ने क्रम अझै नरोकिएकाले अहिलेको अवस्थामा सडक सञ्चालन गर्न सम्भव नरहेको बताइएको छ भने उक्त इकु क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ ।
पटक पटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको हो । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको छ भने सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल गरेर सडक खुलाउन प्रयास भइरहेको छ ।