
वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाले ज्यान गुमाउदा ४१ जना घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८१/०८२ काे एक वर्षमा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका हुन् ।
गैँडाको आक्रमणबाट सबैभन्दा धेरै ८ जनाले ज्यान गुमाएको निकुञ्जले जनाएकाे छ । त्यसैगरि हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएका छन् ।
सूचना अधिकारी अविनाश थापामगरका अनुसार सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएकाे बताइएकाे छ । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते ९ जना रहेका छन् । मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् भने बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको थियाे ।
त्यस्तै चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो ५ वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् भने सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १ सय ६९ जना घाइते भएका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन् ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पुर्याएको छ भने १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको थियाे । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउदै निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ ।


