
आज बिहान बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीप दुर्घटनामा हिमाली गाउँपालिका-५, का ७६ वर्षीय विजा रोकाया र ७५ वर्षीय वाचा रोकायाको मृत्यु भएको हो ।
क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप दुर्घटना भएको बताइएको छ ।
वडा कार्यालयतर्फ आउँदै गरेको जीप कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । जीपमा सवारमध्ये १५ जना घाइते भएको र उनीहरुको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको बताइएको छ ।
दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको र घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।