
नेपाली महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन् । उनकाे गृह जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिकाले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड साम्बालाई सम्मान गरेकाे हाे ।
मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेमा आयोजित अण्डर–१९ फुटबल खेलाडीसँग अन्तरक्रियामा तथा सम्मान कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बालाई दोसल्ला ओढाएर सम्मान गरेकाे हाे ।
सम्मान गर्दै अध्यक्ष गुरुङले साम्बा जस्तै खेलाडी उत्पादन गर्न र खेलकुद क्षेत्रलाई माथि उकास्न गाउँपालिका लागेको बताए । यता सम्मान पछि साम्बाले पालिकामा सम्मानित हुन पाउँदा खुसी लागेको बताउँदै यस्ता सम्मानले अझै राम्रो र निरन्तर खेल्न हाैसला मिल्ने बताइन् ।
त्यसैगरि गाउँपालिकाले भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९, खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरणसमेत गरेको छ । यसअघि युरोपको फ्रेण्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध भएकी साम्बा आगामी दुई सिजनका लागि न्यूजील्याण्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गर्दै अस्टेलियाको निन्जा ए लिग खेल्ने तयारीमा छन् ।