
भारत हुँदै कुवेत जान लागेका चार दर्जन महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएकाे छ । भारत हुँदै भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइएको हाे ।
उनीहरूलाई एनओसीबिना कुवेत जान लागेकाे अवस्थामा दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा दिल्ली विमानस्थलबाट नियन्त्रणमा लिई स्थलमार्ग हुँदै गएराति रूपन्देही ल्याइएको बताइएकाे छ । नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले उनिहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।
प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले काठमाडौँ ल्याइँदै छ भने गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएको बताइएको छ ।