
गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जसम्बन्धी विभिन्न कसुरमा ४ सय ४२ जनालाई पक्राउ गरेकाे छ । निकुञ्जले एक वर्षकाे अवधिमा बनसम्बन्धी अपराधमा २ सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा १ सय ७६ जनालाई पक्राउ गरेको हो ।
निकुञ्जले गत आर्थिक वर्षमा पक्राउ परेका उनिहरूलाई कारबाही गरेको छ । जसमा गैँडा मुद्दामा ८, बाघसम्बन्धी मुद्दामा १, बँदेलका २६, पन्क्षीका ३, सालकका ५, माछाका १ सय २६, ढुङ्गागिट्टि, बालुवाका ५, घाँसदाउँराका १ सय ४१ र निगुरोका ८७ जनालाई पक्राउ गरेर कारबाही गरेकाे हाे ।
त्यसैगरि अनुमतिबिना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने छ, हिउँचितुवा कसुरमा दुई, चितुवामा पाँच र च्याउसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरी कारबाही गरिएको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले बताएका छन् ।
पक्राउ परेकाविरुद्ध विभिन्न २६ वटा मुद्दा दर्ता गरिएकाे छ जसमा जिल्ला अदालतमा सालक, गैँडा, बाघसम्बन्धी ४ वटा र अन्य मुद्दा निकुञ्ज कार्यालयमा दर्ता भएकाे पनि सूचना अधिकारी थापा मगरले जानकारी दिएका छन् ।
निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटाको फैसला भएकाे छ भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको बताइएकाे छ । चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका २६ वटा मुद्दा अझै बाँकी रहेकाे छ ।