
गत असार २४ गते गएकाे बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछ अवरूद्ध सडक खुलाउन बेलीब्रिज निर्माण गर्न थालिएकाे छ । नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न थालेकाे हाे ।
असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले नेपाल–चीनकाे उत्तरी नाका रसुवागढीको १० मिटर चौडाइ र सय मिटर लम्बाइको मितेरी पुलपुलमा क्षति पुर्याएको थियो । अहिले चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।
नेपाल–चीनबीचकाे उक्त नाकामा चीन सरकारले बेलीब्रिज निर्माण गर्न भुइँ सतह मिलाउन सुरु गरेकाे छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण थालिएकाे छ ।
हाल उक्त पुल निर्माणका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको र अहिले चार स्काभेटरको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको बताइएकाे छ ।
हाल निर्माण सुरू गरेकाे बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको समेत प्रजिअ पौडेलले जनाएका छन ।