
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल) ले उनीविरुद्ध अख्तियारमै उजुरी दर्ता गराएका हुन् । दर्ता नम्बर सी–००३४९८ रहेको उजुरीमा वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्डलगायतमा राई मुछिएकोले छानबिनको माग गरिएको छ ।
विमान किन्ने निर्णय गर्ने तर उनैलाई वाइडबडी जहाज भ्रष्टाचारमा प्रतिवादी नबनाउनु गम्भीर त्रुटि भएको विशेष अदालतले ठहर गरेको जनाउँदै सफलले तत्काल अख्तियार प्रमुख राईमाथि पुरक अभियोग पत्रमार्फत मुद्दा दर्ता गरी हदैसम्म कारबाहीको माग गरेका छन् ।
त्यस्तै, उनी आपूर्तिसचिव हुँदा आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको उजुरीमा जनाइएको छ । सफलका अनुसार त्यतिबेला निगमले भैरहवा, चितवन, सर्लाही, झापालगायत जिल्लामा डेढ अर्बभन्दा बढीको जग्गा किनेको थियो ।
उनले भनेका छन्, ‘उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेमकुमा राई नै थिए । अतः आयल निगमको सो जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालिन अध्यक्ष निगम कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि मुद्दा चलाइएपनि जग्गा खरिद गर्ने निर्णय प्रेमकुमार राईमाथि कुनै मुद्दासमेत चलाइएन । कोरोना महामारीको बेलामा राई जोडिएको आयल निगम जग्गा प्रकरणसम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको छ । अतः तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखेको मुद्दा जगाई निजविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम हदैसम्मको कारबाही गर्न प्रस्तुत उजुरी पेश गरेको छु ।’
योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि राईले करोडौं रुपैयाँ लिएको पहिला नै सार्वजनिक भएको तर यस सम्बन्धमा अनुसन्धानसमेत नभएको जनाउँदै सफलले थपेका छन्, ‘भ्रष्टाचारमा मुछिएका, अदालतले समेत मुद्दा चल्न पर्ने भनी घुमाउरो हिसाबमा दोषी देखेको व्यक्ति प्रेमकुमार राई नैतिक रुपमा १ सेकेण्ड पनि प्रमुख आयुक्तको कुर्सीमा बस्न नमिल्ने हुँदा तत्काल अख्तियार प्रमुखबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गर्दछ ।’
यसो नगरेमा आवश्यक कानूनी प्रक्रियामा गएर राईलाई पदमुक्तसँगै भ्रष्टाचारको अभियोग लागेका मुद्दाउपर अनुसन्धान गरी कारबाहीसमेत गराउने सफलको चेतावनी छ ।