
आज बिहानैदेखि भोटेकोशी नदीमा आएको भीषण बाढीले त्रिशूली नदीको जलसतह बढेसँगे नदी आसपासका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएकाे छ । बाढीले त्रिशूली नदीको जलसतह खतराको तहसम्म पुगेकाले सुरक्षित रहन आग्रह गरिएकाे हाे ।
बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा त्रास फैलाएको छ भने स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आपत्कालीन सूचना जारी गरेको छ । बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली बजार र देवीघाट जस्ता संवेदनशील क्षेत्रमा तीव्र कटान गरिरहेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जनाएका छन् ।
प्रजिअ हुमागाईले बाढी मानव बस्तीतर्फ सोझिन सक्ने जोखिम बढेपछि सुरक्षित स्थानमा रहन आग्रह गरेको बताइएकाे छ । बाढीकाे जाेखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूले नदी किनारका बस्तीहरूमा ‘माइकिङ’ गर्दै सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न निरन्तर आग्रह गरिरहेका छन् ।
बिहानैदेखिकाे बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५, को ‘त्रिशूली-काठमाडौं प्रसारण लाइन’ को सब-स्टेसनमा समेत क्षति पुर्याएको छ भने जसकाे कारण विद्युत् आपूर्तिमा समेत असर पर्न सक्ने देखिएको छ । यता प्रशासनले नदीको जलस्तर नघटेकाे र जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई रातको समयमा अझ बढी चनाखो रहन समेत आग्रह गरेको छ ।