
लामाे समयदेखि खडेरी परेकाे मधेश प्रदेशमा वर्षा हुँदा त्यहाँका किसानलाई राहत मिलेकाे छ । केहि दिनदेखि परेकाे निरन्तर वर्षाका कारण मधेश प्रदेशमा राहत मिलेपनि नदीकाे जलसतह बढेपछि त्यसले जाेखिम निम्त्याएकाे हाे ।
वर्षाका कारण उदयपुरमा परेको अति भारी वर्षाले त्रियुगा नदीमा जलसतह बढेर जोखिम निम्त्याएको बताइएकाे छ । अहिले मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षाले एकैसाथ राहत र जोखिम दुवै ल्याएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा मधेशकाे विभिन्न जिल्लामा भारी वर्षा भएको छ । सिराहकाे लहान र गोलबजार, सप्तरीको मरमझिया र रुपनी बजार तथा महोत्तरीको गौशाला लगायतका स्थानमा पनि उल्लेखनीय वर्षा भएको छ । वर्षा भएपछि धान रोप्न नपाएर चिन्तित किसानलाई ठूलो राहत मिलेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा उदयपुरको गाईघाटमा सबैभन्दा बढी वर्षा भएको छ । विभागका अनुसार गाईघाटमा १३२ मिलिमिटरकाे अति भारी वर्षा मापन भएकाे र स्थानीय त्रियुगा नदीमा जलसतहले सतर्कता तह पार गर्नुका साथै नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मनसुनी वायुको प्रभाव देशभर सक्रिय रहेकाले देशका विभिन्न जिल्लामा बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेकाले वर्षाको क्रम जारी रहेकाे बताइएकाे छ । आज दिउँसो र राति पनि कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।