
निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । हिँजाे साउन १८ गते साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २ सय १० क्यूसेक पानीको वहाव मापन गरिएको थियाे ।
त्यसैगरि आज बिहान पानीको वहाव एक लाख ७५ हजार ६ सय ८५ क्युसेक प्रतिसेकेण्ड मापन गरिएकाे छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६ सय ८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको बताइएकाे छ ।
कोशी ब्यारेजरमा अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको पनि उपरीक्षक थापाले जानकारी दिएका छन् । कोशी ब्यारेजमा एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।
अहिले रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि २०६५ साल भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।