
आज बिहानदेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ । म्याग्दीको उत्तरी क्षेत्र रघुगङ्गा गाउँपालिका–२, बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हाे ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जाेड्ने राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उक्त सडकखण्ड खुलाउन सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूको डोजर परिचालन गरेर प्रयास गरिरहेकाे बताइएकाे छ ।
निरन्तर वर्षा भइरहेकाे र पहिरो खस्न नराेकिएकाले सडक खुुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जनाएका छन् । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ भने प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द भएकाे छ ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरू प्रभावित भएका छन् ।