Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द

२८ मंगलबार , श्रावण २०८२एक महिना अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वितरण गरिँदै आएकाे भिजिटर पास वितरण बन्द गरिएकाे छ । आवश्यकता भएकाहरूले पास नपाउने तर, पहुँच र भनसुनका आधारमा पास वितरण हुने गरेको व्यापक गुनासो बढेपछि भिजिटर पास वितरण बन्द गरिएकाे हाे ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले आज मंगलबारदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण पूर्ण रूपमा बन्द गरेको हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार मंगलबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जनाएका छन् ।

अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पासकाे दुरुपयोग बढ्दो देखिएकाले वितरण बन्द गरिएको व्यहोरा सरोकार वाला सबैमा जानकारी गराइएकाे छ । पहुँच भएका व्यक्ति, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकाय र राजनीतिक व्यक्तित्वहरूबाट भनसुनका आधारमा पास लिनेहरूको संख्या अत्यधिक भएकाे र जसले गर्दा वास्तविक यात्रुहरूलाई नै समस्या परेकाले पास वितरण बन्द गरिएकाे बताइएकाे छ ।

त्यस्तै विमानस्थलका अनुसार, दैनिक ६ हजार यात्रु प्रस्थान गर्ने र उनीहरूलाई बिदाइ गर्न आउने भिजिटरको संख्या १२ सयसम्म पुग्ने गरेकाले उक्त भीडले गर्दा यात्रुलाई विमानस्थल प्रवेश गर्न, चेक-इन काउन्टरमा पुग्न र सुरक्षा जाँचमा ढिलाइ हुने गरेको र जसले उडान सञ्चालनमा समेत असर पारेकाले आजैदेखि लागु हुनेगरि भिजिटर पास  वितरण पूर्ण रूपमा बन्द गरेको हाे ।

विमानस्थल कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त, गर्भवती महिला र नाबालक यात्रुका लागि सहायता कक्षको प्रबन्ध गर्दै भिजिटर पास बन्द गरिए पनि व्यक्तिगत सहायता आवश्यक पर्ने यात्रुहरूलाई कुनै असुविधा नहोस् भनेर विशेष व्यवस्था मिलाइएको बताएकाे छ ।