
देशभरको मौसम पूर्णतया बदली हुनुका साथै अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी तराई नजिक सक्रिय हुँदा पश्चिम नेपालमा मनसुन थप सक्रिय भएकाे हाे ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा पूर्वी क्षेत्रभन्दा पश्चिम नेपालमा मनसुन थप प्रभावकारी हुने बताइएकाे छ । जसको प्रभावले अहिले देशभरको मौसम बदली भई विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी भूभागमा वर्षाको सम्भावना रहेकाे छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएकाे छ ।
भारी वर्षाले भूक्षय, पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढाउन सक्ने र सहरी तथा तराईका क्षेत्रमा डुबानको खतरा निम्त्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ ।
आज राति गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा जारी रहने बताइएकाे छ ।