
गएराती रौतहटमा शंकास्पद सुटकेश भित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिकै शंकास्पद सुटकेशबाट महिलाको शव फेला परेको हो ।
डोरीले बाँधिएको अवस्थामा सडक किनारमा भेटिएको सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उक्त शव कसको हो भन्ने खुल्न बाँकी रहेको र परिचय खुलेपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रातिदेखि नै घटनास्थलमा परिचालन गरिएको र घटनाबारे आवश्यक अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक एसपी नेत्रमणि गिरीले जनाएका छन् ।
घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको उक्त शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको र त्यसबारे थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।