Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमा फैलियो

०८ आइतबार , भाद्र २०८२२२ दिन अगाडि

वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमा फैलियो

वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमा फैलिएको कारण त्यहाँको अवस्था भयावह बनेको छ । अहिले वीरगञ्जमा संक्रमणको फैलावट रोक्न र विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले आज र भोलि महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्देशन दिंदै विगत केही दिनदेखि तीव्र गतिमा फैलिरहेको संक्रमणबाट बच्न आग्रह गरेको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १ सय २९ जना बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको र प्रकोपले महामारीको रूप लिँदै गएको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११, १२, १३ र १६ मा संक्रमण सबैभन्दा बढी देखिएको छ ।

त्यस्तै हैजासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जना बिरामीको मृत्यु भएको छ ।  पोखरिया नगरपालिका-९ की एक महिला र वीरगञ्ज महानगरपालिका-१२ का एक पुरुषको झाडापखालाकै कारण मृत्यु भएको र उनीहरुको हैजासँग मिल्दोजुल्दो लक्षण देखिए पनि पुष्टि हुन् भने बाँकि रहेको जनस्वास्थ्य कार्यालयको भनाई रहेको छ ।

भिब्रियो कोलरी नामक जीवाणुले दूषित खाना वा पानीको माध्यमबाट शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने र हैजा लाग्दा निरन्तर पातलो दिसा लाग्नु, वान्ता हुनु, पेट दुख्नु, शरीरमा पानीको कमी भई आँखा गाडिने, मांसपेशी बाउँडिने र ज्वरो आउनु यसका मुख्य लक्षण हुन् । यसको समयमै उपचार नपाए बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले उमालेको पानी मात्र पिउन तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।