
गोरखा जिल्लामा लगाइएको धान बालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाको तीन वटा वडामा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धान बालीमा मरुवा रोगको समस्या देखिएको हो ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टका अनुसार धान बालीमा मरुवा रोग लागेको पाइएको छ । पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै ४ सय १० रोपनी क्षेत्रमा लगाइएको धान बालीमा मरुवा रोग फैलिएको छ भने सबैभन्दा धेरै वडा नं ८ मा १ हजार फाँटको द्वारटारमा समस्या देखिएको छ ।
रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको पनि अधिकृत विष्टले जानकारी दिएका छन् । धान बालीमा मरुवा रोग लागेको किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरेको थियो ।
रोग फैलिएका क्षेत्रमा धान बाली सुकिसकेको छ भने मरुवा रोग धान बालीमा लाग्ने एक प्रकारको ढुसी कीरा भएकाले यसको समयमा नै ढुसीनासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने अधिकृत विष्टको भनाइ रहेको छ भने त्यस क्षेत्रमा विशेष गरी गोरखनाथ, सावित्री र मन्सुली जातको धान बालीमा मरुवा रोग देखिएको छ । तर, सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको पनि अधिकृत विष्टले बताएका छन् ।
अहिले रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’ पनि गरिसकिएकाले ५० प्रतिशत धान बाली जोगाउन सकिने विश्वास गरिएको छ ।