
बालबालिका, अशक्त, असहाय तथा ९० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन पाउने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएकाे छ । उनिहरूकाे हकमा विभागले राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कुनै बाधा नपर्ने प्रावधानको पुन:स्मरण गराएको हाे ।
हाल विभिन्न स्थानीय तहले परिचयपत्र अनिवार्य रहेको भन्दै सेवा प्रवाहमा कठिनाइ भएको बताउँदै आएपछि विभागले उक्त प्रावधान स्मरण गराएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रयोजनका लागि ज्येष्ठ नागरिकले दुःख पाएको तथा अशक्तलाई पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक रहेको भन्ने गुनासो पछि विभागले थप स्पष्ट पारेको बताइएकाे छ ।
यसअघि सरकारले २०८१ असार २० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । त्यस्तै सामाजिक सुरक्षा भत्ता, बिमा निवृत्तिभरण, राजस्व, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिम कार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा कारोबारमा परिचयपत्र अनिवार्य गरेको छ ।
अशक्त तथा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र नम्बर माग गरिएको र त्यसका लागि कष्टपूर्वक सेवा इकाइमा पुग्न परेको भन्ने सूचना र गुनासो प्राप्त भएकाले विभागले एक सूचना जारी गर्दै स्पष्ट पारेको हाे ।