
मनसुन सक्रिय हुँदा देशभर सामान्य बदली भएकाे छ भने आगामी २४ घण्टामा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले हाल देशभर सामान्य बदली हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको हाे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशकाे विभिन्न भागमा वर्षा भइरहेको छ । हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको बताइएकाे छ ।
आज दिउँसो देशभर सामान्यतया बदली हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।
त्यस्तै आज राति देशभरकाे माैसम सामान्यतया बदली हुनेछ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनुका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।