
उखु किसानले सरकारी वार्ताटोलीसँग गरेकाे वार्ता निष्कर्षमा नपुगेपछि भदौ २५ गतेदेखि अनिश्चितकालीन राजमार्ग बन्द गर्ने घोषणा गरेकाे छ । कृषिमन्त्री सहितको सरकारी वार्ताटोलीसँग तीनपटक वार्ता गरेपनि कुनै निष्कर्षमा नपुगेपछि राजमार्ग बन्द गर्ने घोषणा गरेकाे हाे ।
उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको सहभागितामा शनिबार बसेको संयुक्त बैठकले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो । उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।
किसानले सरकारले आफूहरूलाई दिनुपर्ने अनुदानमा बदमासी गरी कटौती गरेको भन्दै राजमार्ग बन्द गर्ने घोषणा गरेका हुन् । उखु किसानलाई २ अर्ब रुपैयाँ दिने भनी रातो किताबमा समावेश गरिए पनि गैरजिम्मेवार ढङ्गले कटौती गरिएपछि राजमार्ग बन्द गर्ने घाेषणा गरेकाे बताइएकाे छ ।
महासंघले विज्ञप्ति जारी गर्दै आफ्नाे आन्दोलनबाट हुने क्षतिको जिम्मार सरकार हुने बताउँदै अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिम्मा लिनुपर्ने बताएको छ । उनिहरूले बाँकी अनुदान रकम विनासर्त भुक्तानि गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर-खेतमा फर्किने वातावरणा बनाउन समेत माग गरेका छन् ।