
दुई महिनादेखि सेवा बन्द रहेको पोखरा-जोमसोम हवाई सेवा सञ्चालन भएको छ । बर्षायामको मनसुनसँगै हवाई यात्रुको चाप घट्दै गएपछि बन्द रहेकाे पोखरा-जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालनमा आएकाे हाे ।
यसअघि प्रतिकूल मौसमका कारण निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत असार २ गतेदेखि र समिट एयरलाइन्सले असार २० गतेदेखि पोखरा-जोमसोम हवाई उडान बन्द गरेका थिए । अहिले पर्यटकीय याम सुरु भएसँगै उडान भर्न सुरु गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिएका छन् ।
पोखरा-जोमसोम हवाई उडानका लागि समिट एयरलाइन्सको ट्विनअटर जहाजले उडान भर्न सुरु गरेकोसँगै पहिलो दिन ३६ जना यात्रु लिएर जहाज जोमसोम विमानस्थलमा अवतरण गरेको थियाे । भदाै १५ गते पहिलो दिन समिट एयरलाइन्सको जहाजले पोखरा-जोमसोम दुईवटा उडान भरेको बताइएकाे छ ।
त्यसैगरि तीनवटा हेली कम्पनीले मुस्ताङमा आठवटा उडान भरेको थियाे । तारा एयरलाइन्सको जहाजले पनि सेप्टेम्बर ७ तारिखदेखि उडान भर्ने तारा एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले बताएका छन् ।