
बाढी र पहिराेकाे जोखिमका कारण बीपी राजमार्ग र बैतडीकाे मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सम्भावित जोखिमका घटनाबाट बच्नका लागि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
बीपी राजमार्गमा गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आएकोमा यहि भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको बताइएकाे छ । जसअनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाएको जनाएको छ ।
त्यसैगरि बैतडीमा पनि रातिकाे समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारी साधन सञ्चालनमा राेक लगाइएकाे बताइएकाे छ ।
भदाै १६ गतेदेखि लागु हुनेगरि विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएकाे हाे ।