
गुठी संस्थानले पत्रकार सम्मेलन गरी आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा प्रारम्भ गर्न लागेकाे छ । संस्थानले पत्रकार सम्मेलन गरेर आज विहान १० : ३१ बजे गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा गरी लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौं उपत्यकामा विधिवत रूपमा इन्द्र जात्राको प्रारम्भ हुने जानकारी दिएको हो ।
संस्थानकाअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ भने त्यसपछि २६ गते बेलुका १० : ३२ बजे इन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ ।
यसअघि भदौ ९ गते वनयात्रा सुरू गरिएको र सोहि दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिङ्गो बनाइएको थियो । उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको थियाे ।