
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको नयाँ पदाधिकारी नियुक्त गरेको हो ।
मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा. शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिएको छ भने समितिका सदस्यमा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चाङ्ग) का पञ्चाङ्गकार नारायणप्रसाद निरौलालाई नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हिँजो मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा ढकाललाई जिम्मेवारी दिएका हुन् । अध्यक्ष र सदस्यहरूलाई पाँच वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो भने यसअघिको समितिको कार्यकाल गत असार २३ गते सकिएको थियो ।
मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेश अनुसार चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका बारेमा निर्णय गर्ने र नयाँ पात्रो (पञ्चाङ्ग) तथा भित्ते पात्रो (क्यालेण्डर)लाई स्वीकृति दिने मुख्य काम समितिलाई दिइएको छ ।
समितिका नव नियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।