
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा आजबाट सुरु हुने महाधिवेशनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो विधान महाधिवेशनले पार्टीको भावी दिशा र सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण भुमिका खेल्ने विस्वास गरिएकाे छ । महाधिवेशनकाे सम्वन्धमा हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिकालाई स्वीकृत गरेकाे र आज ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन दस्तावेज प्रस्तुतीकरणमा केन्द्रित हुने बताएइएकाे छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यस्तै पार्टी महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने र पार्टीको संगठनात्मक अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराउने कर्यसूचि रहेकाे छ ।
महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले हिँजो पार्टी कार्यालयमा दर्ता गराएका फरक मतसहितको दस्तावेज प्रस्तुत गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै स्थायी कमिटी सदस्य थापाको फरक मतसहितको दस्तावेज प्रस्तुत गरिने भएकाे हाे ।