
आज भाद्र शुक्ल पूर्णिमाका दिन बेलुकि खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ११ मिनेटमा शुरु हुने चन्द्रग्रहण १ बजेर ४१ मिनेटसम्म लाग्नेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १० : ११ मा ग्रहण स्पर्श, ११ : १५ बजे सम्मीलन, ११ : ५६ बजे मध्य, १२ : ३८ बजे उन्मिलन र १ : ४१ बजे मोक्ष हुने बताइएकाे छ । खग्रास चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्रा.डा. जयन्त आचार्यले जानकारी दिएका छन् ।
आजकाे चन्द्रग्रहण मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्न नहुने तर अन्य राशिकाले भने हेर्न सक्ने फलित ज्योतिशास्त्रले जनाएकाे छ । जसअनुसार मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ भने सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ । त्यसैगरि धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ ।
यस चन्द्रग्रहणले कुम्भ राशि भएकालाई अति कष्ट दिने पञ्चाङ्गमा उल्लेख छ । पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ। दिउँसो १ : ११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहण अवधिमा मन्त्रजप र हवनजस्ता कार्य गर्न निर्देश गरिएको छ भने शयन, खानपिन तथा मैथुन जस्ता कार्यलाई निषेध गरिएको छ ।